सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मङ्गलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो।

सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए। सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ।

बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौँ गएकी छन्। मङ्गलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए। फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए।

बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध रहेको र प्रेमिकालाई विदेश जान दिन उनी तयार नभएको तर प्रेमिका विदेश जानका लागि काठमाडौँ गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेका थिए।

बालिका मङ्गलबार दिउँसो ३ बजेतिर हराएकी थिइन्। बालिका हराएको जानकारी प्राप्तपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ।