राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन्। पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको बताएका हुन्।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कटहरू समाधान हुन सक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त गर्यों। यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ।’ 

राष्ट्रपति पौडेलले नेता मदन भण्डारीले पुष्पलालको कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरणको त्यही सुत्र समातेको बताए। राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण र समाजका अन्तरबिरोधहरूलाई सुविचारित ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको  बताए। 

उनले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गरे। राष्ट्रपति पौडेलले देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्तिहरू मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र बाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना सम्भव भएको उल्लेख गरे। 

उनले पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै भने,‘पुष्पलाल पञ्चायतका विरुद्धमा सङ्घर्ष गरिरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई समान स्नेह गर्नुहुन्थ्यो। हामी बीपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएको थियौँ। आन्दोलनका बारेमा कुराकानी भयो। काठमाडौँमा को–सँग सम्पर्क गर्ने भन्दा हिरन्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो। माइला दाईले भनेको है भनेर पनि भन्नुभयो।’

उनले अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए। उनले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पारे।