नेपाल उद्योग वाणिज्य महासङ्घ, कर तथा राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको विकराल अवस्था आउन लागेको बताएका छन्।
मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका सभापति पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजश्व उठाउन सकिने बताए।
उनले भने, ‘कर प्रशासन सुधार हुनु आवश्यक छ। नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ। अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो किरु कर प्रशासनलाई साँच्चिकै व्यवस्थित र पारदर्शी बनाइ धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानुन र कदर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ। कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको विकराल अवस्था आउन सक्ने देखिएको छ। कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै विकराल अवस्था आउन सक्छ।’
कर सम्बन्धी सरकारले बनाउने कानुनहरूमा भएका गल्तीहरूलाई सुधार गर्न फोरमहरूले दिएका सुझावहरूलाई कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले अघि भने, ‘कर सम्बन्धी बनेका कानुनहरूमा निश्चय पनि गल्ती हुन्छन् नै। तर ती गल्तीहरूलाई सुधार गर्नका लागि यस्तै फोरमहरूबाट दिएका सुझावहरूलाई कार्यान्वयन गर्नुपर्दछ।’