धनगढीको नोभा अस्पतालमा एक युवकको मृत्यु भएपछि तनावग्रस्त भएको छ।
सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन्।
प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ। अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो।
अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरू तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ। जन्डिसको समस्या लिएर ७ गते साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो।
मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो।
आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन।