मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ।
केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो। स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ।
यसका लागि दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन्। मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ।
गोरखाको शहीद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ साल मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।