काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताएका छन्। 

सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास आजको आवश्यकता भएको बताए।

उनले भने ‘विदेशमा राम्रोसँग बजारीकरण गर्नसक्ने र पर्यटकीय गन्तव्यको पूर्वाधारको विकास गर्नसक्ने हो भने नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिन्छ। नेपालमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ। गौतमवुद्धको जन्मभूमि, विश्वको सर्वोच्च शिखर र खोंचसमेत नेपालमै रहेको छ। नेपालमा पर्यटनका प्रचुर सम्भावना भएपनि पर्यटनको विकास हुन नसकेको यथार्थ हामीसामु छ।’

Photosबेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु आजको मुख्य समस्या भएको दाहालको भनाइ छ। दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा मुलुक प्रतिदिन परनिर्भर हुँदै गइरहेको दाहालले बताए। 

उनले भने, ‘नेपालको अहिलेको मुख्य समस्या भनेको बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुनु हो। दक्ष र कामकाजी जनशक्ति बाहिरिँदा हामी दिन प्रतिदिन परनिर्भर हुँदै गइरहेका छौं। देशलाई परनिर्भरबाट जोगाएर आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पर्यटन क्षेत्रको विकासका गर्नु उत्तम उपाय हो भन्ने लाग्छ। त्यसैले अब सरकारको ध्यान युवाहरुलाई विदेश जान रोकेर बढिभन्दा बढि पर्यटक भित्र्याउन हुनुपर्दछ।’