जङ्गली हात्तीले आज बिहान बिर्तामोड–७ मा चारवटा घर भत्काएर क्षति गरेको छ । वडा न.७ डाँडागाउँ बस्ने नवराज लिम्बू, डम्बर बिक, सोनु सुनुवार र खालबारी बस्ने खगेन्द्र घिमिरेको घर भत्काएर क्षति गरेको हो।

बिहान अन्दाजी २ बजेको समयमा चार वटाको संख्यामा आएका जंगली हात्तीको समूहले डाँडागाउँ बस्ने नवराज लिम्बूको टिनको छानो, ईटाको पर्खाल भएको दुईतले टाँडेघरको पर्खाल भत्काई एक लाख पचास हजार बराबरको क्षति गरेको छ।

त्यस्तै सोही ठाउँ बस्ने डम्बर बिकको टिनको छानो, ईटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ५० हजार बराबरको क्षति गरेको छ भने सोनु सुनुवारको टिनको छानो, ईटाको पर्खाल भएको एकतले घरको पर्खाल भत्काउँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ।

त्यस्तै खालबारी बस्ने खगेन्द्र घिमिरेको टिनको छानो, काठको घेराबारा भएको दुईतले टाँडे घरको घेराबेरा भत्काई घरभित्र रहेको अन्नपात खाई अन्दाजी ४० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हात्तीले जम्मा ३ लाख १० हजार बराबरको क्षति गरेको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।