कचनकवल गाउँपालिकामा गाउँमा विवाद मिलाउने क्रममा कचनकवल वडा नम्बर=५ का वडाध्यक्ष नुर आलम र छिमकी रैमु मियाको परिवारबीच लडाइँ भएको छ। दुई परिवारबीचको कुटाकुटमा वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन्।

कचनकवल-५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दै आएको बताइएको छ।

मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा आएर झगडा मिलाइदिन आग्रह गरेकी थिइन्। आलम सम्झाउन जाँदा रहिमु मियाका कान्छा छोराले गाली गलौज गरी हातपात गर्न खोज्दा आलमका परिवार र मियाको परिवारबीच कुटाकुट भएको हो। कुटपिटबाट वडाध्यक्ष आलम र उनकी श्रीमती रुपसना बेगम घाइते भएका छन्। टाउकोमा चोट लागेका घाइते वडाध्यक्ष र उनकी श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, अर्को पक्षका रहिमु मियाकी श्रीमती सैरा खातुन, छोरीहरु रुक्सा र सन्जना खातुन घाइते भएका छन्। रुक्सा र सन्जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।