एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनको बाटो खोलिदिन भनेका हुन्।
‘सरकार घोर अल्पमतमा परेको छ। देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ। अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’, उनले भने, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ। बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन। देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ।’