मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का सडक किनारामा वृक्षरोपण अभियान सुरु भएको छ। क्षेत्र नम्बर ५ का निर्वाचित स्वतन्त्र सांसद योगेन्द्र मण्डलले धनपालथान गाउँपालिका–४ कर्सियाबाट अभियान सुरु गरेका हुन्।

पहिलो दिन शनिबार कर्सियाबजारदेखि भारतीय सीमा क्षेत्र जोड्ने सडकमा पाँच सय विरुवा रोपिएको उनले बताए। पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दायाँ–वायाँ बिरुवा रोप्ने योजना छ। त्यसपछि वृक्षरोपण अभियानलाई अन्य क्षेत्रमा लैजाने उनले बताए।

सांसद मण्डलको अगुवाइमा जीवन विकास समाजले अभियानको उद्घाटन गरेको थियो। मण्डल जीवन विकास समाजको संस्थापक हुन्।

धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरेको उनले बताए। अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मा दिइने उनले जानकारी दिए।