बेलबारी  मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेल मैदानमा पारापिट निर्माण गरिने भएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त हुन लागेको ४० लाख रुपियाँको लागतमा पारापिट निर्माण हुने भएको सो वडाका वडाध्यक्ष विक्रम राईले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकारले नै उपलब्ध गराएको १८ लाख रुपियाँको लागतमा खेल मैदानमा फलामको बार निर्माण गरी घेराबारा गरिएकोमा आगामी वर्ष पारापिट निर्माण हुने भएको हो ।IMG_9597

बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख समेत रहेका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीको पहलमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा पारापिट निर्माणको योजनाले स्थान पाएको बताउँदै वडाध्यक्ष राईले बजेट प्राप्त भएपछि आगामी कात्तिक महिनादेखि पारापिट निर्माणको काम सुरु गरिने जानकारी दिए । गत वर्ष छैटौँ संस्करण सम्पन्न भएको बेलबारी गोल्डकपको सातौँ संस्करण असोजमा आयोजना गर्ने कार्यसूची रहेको बताउँदै उनले गोल्डकप सकिएलगत्तै निर्माण कार्यले गति लिने स्पष्ट पारे । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको नाममा दर्ता रहेको लक्ष्मी खेल मैदान डेढ बिघा क्षेत्रफलमा फैलिएको छ ।