पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा सम्पन्न भएको छ।
प्रत्येक वर्ष आषाढ कृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको हो। स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए।
राक्षसले पशुपतिबाट बालक लैजाने नियमित नै भएपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगेको थियो। आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए।
आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाइ पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउँछन्।
सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको छ। कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन्। यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुरक्षित हुने विश्वास गरिन्छ।