नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरेका हुन्। 

उनले नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए। उनले कम्युनिस्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको बताए।‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ। त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउँछ। हामी नेताहरूको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन। हामी कहिलेकाहीँ बहस गर्दछौँ। कम्युनिस्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन। हामीले यो महाधिवेशनभित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरूको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौँ। अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ,’ उनले भने।

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए। उनले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने बताए।