बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेष बहादुर विकको घर पुरिँदा विक परिवारका पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनी सपना र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिए।
यस्तै, शुक्रबार राती भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो। पहिरोमा परि प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
पहिरो शनिबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिए।
त्यसैगरी, स्याङ्जामा गतरातीको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटी छन्।