बेलबारी । मोरङको बेलबारी नगरपालिका ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा स्थानीय साहित्यकार नवराज पोख्रेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विवश पोख्रेल, नेपाल मुक्तक प्रतिष्ठानका कोशी प्रदेश अध्यक्ष बाबुराम पोख्रेल र साहित्यकार केशु विरहीले साहित्यकार पोख्रेलको व्यक्तित्वको विवेचनाका साथै मुक्तकसङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
समीक्षक बाबुराम पोख्रेलले आफ्नो समीक्षात्मक टिप्पणीका क्रममा लेखक नवराजले एकै दिनमा चारओटासम्म मुक्तक रचना गरेर लेखकीय अनुशासन प्रदर्शन गरेको बताए । साथै उनले नवशिला मुक्तकसङ्ग्रह हुनुका साथै लेखकको दिनचर्या प्रतिबिम्बित गर्ने दस्तावेजसमेत रहेको जिकिर गरे । मुक्तकसङ्ग्रहका लेखकको लेखाइ व्यवस्थित र लालित्यमय रहेको बताउँदै उनले केही मुक्तकहरू भने मानवीय प्रवृत्तिवश काव्यिकताको दायराभन्दा बाहिर जान पुगेको टिप्पणी गरे ।
अर्का समीक्षक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विवश पोख्रेलले चार सय ओटा मुक्तकको सङ्ग्रहमा मानिसको शहरमोह, प्रेममा पाएको धोका, सीमा अतिक्रमणमाथि विद्रोह, परदेशिनुको पीडा, किसान तथा बेरोजगार युवाको समस्या, आमाको स्नेह, धर्ममाथि आस्थाजस्ता थुप्रै भाव प्रतिबिम्बित भएको बताए ।
मुक्तकसङ्ग्रहका लेखक नवराज पोख्रेलले आफ्नो कृतिले समीक्षकको आलोचना अपेक्षाभन्दा कम मात्र प्राप्त गरेकाले आफूलाई साहित्य क्षेत्रका लागि केही योगदन गर्न सकेको अनुभूति भएको बताए । आफ्नो लेखनलाई परिष्कृत गर्दै लैजाने सवालमा विज्ञहरूको आलोचना र सुझावलाई आत्मसात गर्दै अगाडि बढ्न आफू तत्पर रहेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले मानव सभ्यताको विकासमा चिन्तनको महत्वपूर्ण भूमिका रहेको बताउँदै चिन्तनकै परिणामस्वरुप समाजमा समाजशास्त्री, दर्शनशास्त्रीजस्ता विद्वत वर्गको जन्म भएको बताए । पछिल्लो समय भने चिन्तनसमेत विभाजित रहेको भन्दै उनले विभाजित चिन्तन र विभेदबाट समाजलाई उठाउँदै सबैको अस्तित्व सुरक्षित हुने समाज निर्माण गर्ने दायित्व साहित्यकारको भएको उल्लेख गरे । कुण्ठा, निराशा र आक्रोश मात्र प्रकट भएको साहित्यले परिणाम नदिने बताउँदै उनले निराशालाई चिर्दै आशा जागृत गराउने प्रकृतिका साहित्य रचना गर्न साहित्यकारहरूलाई अपिल गरे । २१ वर्षअघिदेखि नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको स्मरण गर्दै सबैमा असार १५ को शुभकामना व्यक्त गरे ।
यसैगरी, पूर्वसांसद हर्कमान तामाङले मुक्तकसङ्ग्रमा सङ्ग्रहित मुक्तकहरूमा मानवीय भावना र अनुभूति प्रतिबिम्बित भएको बताए । समाजमा मौलिकता ह्रास हुँदै गएको जिकिर गर्दै उनले साहित्यमा मौलिकतालाई महत्व दिइनुपर्नेमा जोड दिए ।
आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलबारी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, सोही संस्थाका सचिव कुलप्रसाद बराल, कवि भवानीप्रसाद पोख्रेल, साहित्यकार इरन राई, बेलबारी ३ का कार्यवाहक वडाध्यक्ष चन्द्रबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।