कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जननेता मदन भण्डारीको ७३ औँ जन्मदिनको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

मुख्यमन्त्री निवास परिसरमा आज वृक्षारोपण गर्दै उनले विश्व कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रूपान्तरण र कम्युनिस्ट व्यवस्थाका लागि उनले गरेको योगदान अतुलनीय रहेको बताए। 

संवैधानिक सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणजस्ता विषयलाई सिलसिलाबद्ध रूपमा व्याख्या गरी जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरी आम नेपाली श्रमजीवी वर्गलाई कम्युनिस्ट आन्दोलनमा गोलबन्द गरी देशको प्रमुख शक्ति बनाउनमा उनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।