मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ।

अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन्।

उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो। नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु लिम्बू, राजवंशी, सुब्बा र खनालले त्यसलाई पछ्याउन थालेका थिए। पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिन क्वान याङ र चेन होङ लीको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरेका थिए।

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन्। उनीहरुको लेखमा भनेका छन्–‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ।’ अनियन्त्रित भई गएमा माछा मारी जीवन चलाउनेहरुको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ। एक तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित जम्मा दुई सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैह्रदेशीय छन् भने १७ प्रजाति चाहिँ नेपालबाहेक अन्त पाइदैनन्।