नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा र मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। 

सो प्रतिनिधिमण्डलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले स्वदेशी उद्योगहरूमाथि नकारात्मक प्रभाव परेको जनाएका छन्। उनीहरूले बजेटमा स्पन्ज आइरन, स्क्र्यापलगायतका कच्चा पदार्थमा गरिएको करवृद्धिले स्टील उद्योगहरूमा गरिएको करोडौं रुपैयाँको लगानी डुब्ने बताए। स्पन्ज आइरनमा कम्तीमा एक तहको भन्सार सुविधा नदिएसम्म मेलटिङ प्लान्ट सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ।

यसैगरी, खाद्यान्न कच्चा पदार्थमा लगाइएको अग्रिम आयकरले खाद्य उद्योगहरूको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने बताइएको छ। उद्योगीहरूले चामल उद्योगको संरक्षण, दाल र मटरको आयात सहजीकरण, मालवाहक सवारी साधनमा अतिरिक्त कर नलगाउन लगायतका सुझावहरू पेस गरेका छन्।

साथै, कोशी प्रदेशमा औद्योगिक ग्राम र औद्योगिक प्रदर्शनीस्थलका लागि बजेट विनियोजन गर्न समेत माग गरिएको छ। प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी स्वदेशी उद्योगको संरक्षण र व्यवसायमैत्री करप्रणाली ल्याउने आश्वासन दिएका छन्। उद्योगीहरूले आर्थिक मन्दीको बेलामा थप नीतिगत अस्थिरता नल्याउनसमेत प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन्।