सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ।
शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो।
कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन्। लामाले पत्रकारहरुसँग आफुमाथि झुटो आरोप लागेको बताए। उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए। केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ।
कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँफिर्ताको माग दिएर लामा विरुद्ध उजुरी हालेका छन्। यो थपिने क्रममा छ। त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्ध समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ। पशुपति सेभिङ विरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी रहेको छ।