बेलबारी : केही दिनदेखि बढ्दै गएको गर्मीका कारण तराइका जिल्लाहरूमा लामखुट्टेको टोकाइले प्रकोपको रूप लिन थालेको छ।

लामखुट्टेको टोकाइका कारण बालबालिका तथा ज्येष्ठ नागरिकका साथै अन्य सर्वसाधारणसमेत प्रभावित बनेका छन्। डेङ्गी, मलेरिया, इन्सेक्टफ्लाइटिसजस्ता घातक रोग सार्ने जिवाणु बोकेका लामखुट्टेको टोकाइबाट सङ्क्रमणको खतरा बढेको छ ।
jhul2यसै अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४, ५, ८ र ९ का विपन्न परिवारलाई झुल वितरण सुरु गरिएको छ। नेकपा एमालेनिकट भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको बेलबारी नगर कमिटीले विपन्न नागरिकलाई गर्मीको समयमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बचाउने उद्देश्यले झुल वितरण कार्यक्रम सुरु गरेको कमिटीका अध्यक्ष काशीराज तामाङले जानकारी दिए । 
jhul1उनका अनुसार दुई वटा वडामा सम्पन्न भई अन्य वडामा जारी रहेको झुल वितरण कार्यक्रमका क्रममा करिब तीन सय ५० परिवारलाई प्रतिपरिवार एउटाका दरले झुल वितरण गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेकपा एमाले मोरङ जिल्ला सचिवालय सदस्य रबिन थापाले पार्टीको कोशी प्रदेशस्तरीय निर्णयबमोजिम सञ्चालनमा ल्याइएको जनताका बीचमा युवा कार्यक्रमअनुसार झुल वितरण गरिएको बताए । साथै उनले सङ्कटमा परेका अवस्थामा पार्टीको युवा दस्ता जनताका साथमा रहने स्पष्ट पारे ।
यसैगरी, अर्का वक्ता नेकपा एमाले मोरङ जिल्ला सदस्य तथा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले अभाव र गरीबीका कारण आधारभूत आवश्यकताबाट बञ्चित रहेको तप्काका लागि पार्टी पङ्क्तिले सहयोगका कार्यक्रम जारी राख्ने बताए । चुनावका समयमा मत माग्नका लागि मात्र नभई वास्तविक समस्यामा सहयोग पुर्याउन जनताका बीचमा जाने पार्टी नीतिअनुरुप आफूहरू गाउँगाउँमा पुगिरहेको उनको भनाइ थियो ।
नेकपा एमाले बेलबारी नगर अध्यक्ष शङ्कर गुरुङ, उपाध्यक्ष हेमसागर ढकाल, राष्ट्रिय युवा सङ्घ बेलबारी नगर इन्चार्ज राजन प्रसाईँ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।