बेलबारी : मोरङको बेलबारी नगरपालिका ५, कसेनीस्थित कसेनी मोडल इङ्ग्लिस स्कुलले विद्यालयका नवआगन्तुक विद्यार्थीको स्वागत, उत्तीर्ण विद्यार्थीको दीक्षान्त तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय प्राङ्गणमा आज एक समारोहको आयोजना गरी विद्यालयले कक्षा १० को एसईई परीक्षामा सामेल भएका आफ्ना विद्यार्थीहरूको बिदाइ कार्यक्रमसमेत सम्पन्न गरेको हो । यसका साथै बेलबारीका शिक्षासेवी छत्रबहादुर राई र विद्यालयकै नृत्य शिक्षिका एलिना राईको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक इवान भट्टराईले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका प्रमुख अतिथि डिल्लीबहादुर कटुवालले विद्यार्थीको सफलतालाई उत्सवको स्वरुप दिँदै दीक्षान्त समारोह आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिए । साथै, विद्यालयलाई नगरकै उत्कृष्ट विद्यालयका रूपमा खडा हुने अवसर प्राप्त होस् भन्ने शुभकामना दिएका प्रमुख अतिथि कटुवालले विद्यालयले विद्यार्थीलाई जीवनका सबै परिस्थितिको सामना गर्न सक्नेगरी व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि विश्वबन्धु बस्नेतले विद्यालय विद्यार्थीको भविष्य निर्धारण गर्ने थलो भएकाले विद्यालयले अब्बल जनशक्तिका रूपमा तयार गरेर विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारमा पठाउनुपर्ने बताए । विद्यालयका विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने गरेको आफूले बुझेको बताएका उनले विद्यार्थीको रुचीअनुरुप अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर विद्यालयले दिन सके विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने धारणा राखे ।