कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ। 

व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारीखेती गर्ने किसानलाई प्रतिटनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउने छ। पालिकाका छवटा वडामा मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने किसानलाई प्लाष्टिक टनेल वितरण गर्न चालु आवमा रु चार लाख विनियोजन गरिएको उहाँले बताउनुभयो।

विहादीले फलफूलका बिरुवा पनि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ। व्यावसायिक रूपमा फलफूलखेतीतर्फ आकर्षण गर्ने उद्देश्यले सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण गर्न थालेको हो। विहादीमा आँप, लिची र कागती राम्रो उत्पादन हुने गरेको छ। यसका लागि किसानले न्यूनतम सुन्तला र कागती १५ बोट, आँप पाँच बोट र लिचीका सात बोट लगाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।पालिकाको दूध ढुवानीमा अनुदान कार्यक्रमअन्तर्गत प्रतिलिटरको रु पाँचका दरले अनुदान वितरण गरिने भएको हो।

गाउँमा सञ्चालित कृषि फार्म वा व्यावसायिक किसानलाई प्रोत्साहन गरी कृषि पेसाबाटै आत्मनिर्भर बनाउन अनुदानमूलक कार्यक्रम ल्याइएको विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कृषिमा नै रहन मद्दत पुगोस् भनेर उक्त कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो। पूरै अनुदान उपलब्ध गराउँदा किसानले बेवास्ता गर्ने भएकाले किसानको जम्मा २५ प्रतिशत र पालिकाको ७५ प्रतिशत लगानी गर्नेगरी अनुदान दिइने भएको हो।