प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा अन्तर धार्मिक सहिष्णुताका लागि मुस्लिम आयोग र नेपाल हज कमिटीबीचको समन्वय प्रभावकारी गराउन सुझाव दिइएको छ।
समितिको बैठकमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरबमा हजमा पठाउँदा कार्यविधि र आवश्यकताका आधारमा नभई तजबिजीका आधारमा पठाइने गरिएकाले त्यहाँभित्रको अनियमितता छानबिन हुनुपर्ने माग गर्नुभयो।
उहाँले उक्त कार्यक्रममा आयोगलाई कुनै जिम्मेवारी नदिइएकाले समन्वयमा समस्या भएको बताउनुभयो। सरकारी खर्चमा हज जान तँछाडमछाड हुने हुनाले यस्तो प्रवत्ति रोकिनुपर्ने उहाँको भनाइ थियो।
समितिका सभापति किरणकुमार साहले हज कार्यक्रमका सम्बन्धमा विभिन्न गुनासा र समस्या देखिएकाले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेर समितिले निर्देशन दिने जानकारी दिनुभयो।
समितिका सदस्य रोशन कार्कीले अन्तरधार्मिक सहिष्णुताका लागि मुस्लिम आयोगले समय समयमा तालिमलगायका कार्यक्रम सञ्चालन गर्नुपर्ने र हज कमिटीसँग समन्वय बढाउनुपर्ने बताउनुभयो। समिति सदस्य सुशीला श्रीपालीले हज कमिटीमाथि आयोगले निगरानी राख्न पाउने गरी सरकारलाई निर्देशन दिन माग गर्नुभयो।