बेलबारी : मोरङको बेलबारी नगरपालिका ८ स्थित सिंहदेवी एकेडेमीले सामाजिक उत्तरदायित्व बोध गर्दैै स्थानीय ऐलानी टोलका महिलाहरूका लागि सेनिटरी प्याड वितरण गरेको छ।
सो विद्यालयमा सञ्चालित सिंहदेवी टिन्स क्लबले रजश्वलाका समयमा स्वच्छताको अभावका कारण गम्भीर सङ्क्रमण भई ज्यानसमेत जानसक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय ५१ जना महिलालाई एक वर्ष पुग्नेगरी प्याड वितरण हो।
प्याड वितरणका लागि आयोजित समारोहलाई सम्बोधन गर्दै एकेडेमीका सञ्चालक रबिन थापाले रजश्वला नभए प्रकृतिमा वंशवृद्धिको प्रकृया नै अगाडि बढ्न नसक्ने भएकाले यस प्रकृयालाई स्वाभाविक रूपमा लिइनुपर्ने बताए।
रजश्वलाका समयमा अपनाउनुपर्ने स्वास्थ्य सावधानी तथा सरसफाइका उपायबारे सचेतना जगाउनु विद्यालयको दायित्व भएकाले बस्तीमै आएर प्याड वितरण गरेको उनको भनाइ थियो। विपन्न वर्गका नागरिकले शिक्षा, स्वास्थ्यजस्ता सुविधामा पहुँच पाउनुपर्ने बताउँदै उनले त्यसका लागि आफ्नो विद्यालयले सो बस्तीबाट एकजना विद्यार्थीलाई निःशुल्क १०ं२ तह पढाइदिने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो विद्यालयमा पाँच वर्षदेखि १०ं२ तहका विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन सङ्कायमा अध्यापन भइरहेको बताउँदै उनले विद्यार्थीको रुचीअनुसार जुनसुकै विषय पूर्ण छात्रवृत्तिमा पढाइदिने प्रष्ट पारे।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेले सरकारी स्तरबाट गरिनुपर्ने सचेतनाको काम निजी क्षेत्रबाट गरिनु प्रसंसनीय भएको भन्दै कार्यक्रमका लागि आयोजकलाई धन्यवाद दिए। निजी विद्यालयले शुल्क लिएर विद्यार्थी पढाउने मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै आएको भन्दै उनले समाजको सर्वाङ्गीण विकासका लागि यस्तो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।
आयोजक टिन्स क्लबका तर्फबाट मन्तव्य राख्दै विद्यालयकी छात्रा मनिषा भुर्तेलले रजश्वला प्राकृतिक प्रकृया भएपनि यसको व्यवस्थापन र सरसफाइमा ध्यान नदिए ज्यानै जानसक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइन्।
सिंहदेवी टिन्स क्लबका उपाध्यक्ष आकाश धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लिटल बुद्ध एकाडेमीका प्रिन्सिपल तथा नगर प्याब्सन बेलबारीका सल्लाहकार मणि तामाङ, सिंहदेवी एकाडेमीका प्रिन्सिपल हेम श्रेष्ठ लगायतको उपस्थिति थियो।