बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित लोहोन्द्रा खोलाको किनारमा आर्यघाट निर्माण सुरु भएको छ।
मृतक व्यक्तिको दाहसंस्कारका लागि उपयुक्त घाटको अभाव रहेकोमा बेलबारी नगरपालिकाले घाट निर्माण सुरु गरेको हो। भ्याटसहित ६२ लाख रुपियाँको लागतमा दुई ओटा शव जलाउन मिल्ने घाटका साथै घाट वरपर ६२ घनमिटर क्षेत्रमा तटबन्धसमेत निर्माण गर्न लागिएको ठेकेदार कम्पनीले जनाएको छ।
निर्माणको ठेक्का पाएको बेलबारी ११ स्थित भाष्कर कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि.का अध्यक्ष गणेश कार्कीले तटबन्ध निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको तथा आर्यघाट निर्माण वैशाख ७ गते सुरु गरिएकोमा असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।