बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ मा सञ्चालित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले मातातीर्थ औँसीका अवसरमा आमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका सदस्यहरूकै घरका ज्येष्ठ नागरिक महिलालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार २०५२ सालमा एक सय १५ जना सदस्यबाट सुरु भएको संस्थाले विगत १५ वर्षयता यस्तो सम्मान कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापतिसमेत रहेका अध्यक्ष गौतमले सबै सम्मानित ज्येष्ठ नागरिक महिलाहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले संस्कृतिलाई निरन्तरता दिँदै मातातीर्थ औँसीका अवसरमा आमालाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए। ज्येष्ठ नागरिकको सम्मानकै लागि नेकपा एमालेकै नेतृत्वमा देशमा वृद्धभत्ता वितरणको सुरुवात भएको स्मरण गर्दै उनले सबै अग्रजहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामना गरे। ज्येष्ठ नागरिकको सम्मान तथा सुरक्षा गर्नु नयाँ पुस्ताको कर्तव्य भएको बताउँदै नगरप्रमुख राई‘ले चिन्तामुक्त भएर सन्तुष्टिपूर्वक जीवनयापन गर्न ज्येष्ठ नागरिकमा अपिलसमेत गरे।
कार्यक्रममा सम्मानित हुने ज्येष्ठ नागरिक बालकुमारी निरौलाले आफ्नी छोरीको आबद्धताका कारण संस्थाले आफूलाई सम्मान गरेको बताउँदै सम्मानका लागि संस्थालाई धन्यवाद दिइन्।
सम्मानित ज्येष्ठ नागरिक महिलाहरूका लागि संस्थाले फलफूल तथा मिठाइ वितरण गर्नुका साथै टाढाबाट आउनेलाई यातायात खर्चको व्यवस्थासमेत गरिदिएको थियो।