बेलबारी : मोरङको बेलबारी नगरपालिका-३ स्थित बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्वाचित कार्यसमितिले संस्थाको क्षमता अभिवृद्धिका लागि काम सुरु गरेको छ।

बेलबारी १ मा ओभरहेड ट्याङ्क स्थापना गरी भूमिगत पानी सङ्कलन, प्रशोधन तथा वितरण गर्दै आएको संस्थाले भौतिक संरचनाको मर्मतसम्भार तथा सरसफाइ कार्यलाई गति दिएको संस्थाका नवनिर्वाचित अध्यक्ष किशोरकुमार कार्कीले जानकारी दिए। उनका अनुसार तीन ओटामध्ये दुई ओटा मात्र पम्प सञ्चालनमा रहँदा पानीको आपूर्ति व्यवस्थामा अवरोध हुँदै आएकाले तेस्रो पम्पलाई पनि सञ्चालनमा ल्याउनेगरी मर्मत प्रक्रिया सुरु गरिएको छ भने अन्य भौतिक संरचनाको मर्मतसम्भार तथा सुरक्षाका लागि पनि काम अगाडि बढाइएको छ।

चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कबाट बेलबारी नगर क्षेत्रका करिब तीन हजार घरधुरीलाई खानेपानी वितरण गर्दै आएको संस्थाको महसुल दर पूर्वी नेपालमै सबैभन्दा सस्तो रहेको अध्यक्ष कार्की बताउँछन्। न्यूनतम एक सय ५० रुपियाँ महसुल र १० रुपियाँ सेवा शुल्क गरी मासिक एक सय ६० रुपियाँ भुक्तान गर्ने ग्राहकले १० हजार लिटर खानेपानी सोही महसुलमा प्रयोग गर्न पाउने व्यवस्था गरिएको भन्दै उनले संस्थाको सञ्चालन प्रक्रियालाई व्यवस्थित गरी गुणस्तर वृद्धि गर्न महसुल  बढाउनुपर्ने आवश्यकता आउनसक्ने उल्लेख गरे। स्थानीय, प्रदेश वा सङ्घीय सरकारबाट कुनैपनि आर्थिक सहायता नआउने हुँदा खर्चको व्यवस्थापनका लागि महसुल बढाउनुको विकल्प नरहेको उनको जिकिर छ।

खानेपानीको गुणस्तर नियमित गर्नका लागि प्रत्येक दुईदेखि तीन दिनको अन्तरमा आफ्नै प्रयोगशालामा पानी परीक्षण गर्नुका साथै प्रत्येक हप्ता इटहरीमा रहेको प्रयोगशालामा पानीको नमुनाको विस्तृत  परीक्षण गर्ने गरिएको अध्यक्ष कार्कीले जानकारी दिए। आफूहरूले सबै मापदण्ड पूरा गरी शुद्ध पानी वितरण गरेकाले उपभोक्ताले धाराको पानी निश्चिन्त भएर सोझै पिउन सक्ने उनको भनाइ छ।

धारामा खानेपानीको आापूर्ति सामान्यतया चौबिसै घण्टा रहने व्यवस्था मिलाएको संस्थाले मर्मतसम्भार वा विद्युत् आपूर्तिमा अवरोधका कारण हुने छिटफुट अवरोधबाहेक पानी वितरणमा समस्या नरहेको जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध भएका समयमा जेनेरेटरका माध्यमबाट मोटर चलाएर पनि पानीको आपूर्ति नियमित गरिने गरिएको बताउँदै अध्यक्ष कार्कीले कुनै प्राविधिक समस्याका कारणले जेनेरेटर नै नचल्ने अवस्थामा मात्र पानीको आपूर्ति अवरुद्ध हुने उल्लेख गरे।

खानेपानीको महसुल बुझाउनका लागि पनि संस्थाले आफ्ना उपभोक्तालाई सरल विकल्प उपलब्ध गराएको छ। संस्थाको कार्यालयमै आएर महसुल भुक्तान गर्न सक्ने सुविधा दिएको संस्थाले बेलबारी खानेपानी एपनामक एन्ड्रोइड मोबाइल एपमार्फत् पनि बैङ्किङ प्रणालीबाट महसुल भुक्तानीको सेवा सुरु गर्न लागिएको जनाएको छ। साथै, संस्थाको सम्पूर्ण आर्थिक कारोबार सफ्टवेयरबाट नियमन गर्न सक्ने व्यवस्था पनि संस्थाले मिलाएको छ। यसैगरी, संस्थाको भौतिक सुरक्षाका लागि सीसीटीभी जडान गरी कार्यालय तथा ट्याङ्कको अनुगमनको व्यवस्था गरिएको अध्यक्ष कार्कीले उल्लेख गरे।

संस्थाले वितरण गरेको खानेपानीका उपभोक्ता पनि संस्थाको सेवाबाट सन्तुष्ट रहेको पाइन्छ। बेलबारी १ का उपभोक्ता माधवप्रसाद चौधरीले धारामा नियमित रूपमा शुद्ध पानी आउने गरेको बताए। संस्थालाई बुझाउनुपर्ने महसुल दर पनि सेवाअनुसार सामान्य रहेको उनको भनाइ थियो।