बेलबारी : मोरङको बेलबारी नगरपालिका-३ स्थित पुरानो नगरपालिका भवनमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पदंशबाट पीडित स्थानीयलाई तत्काल उपचार सेवा दिइरहेको छ। स्थानीय भूतपूर्व सैनिक कर्मचारीहरूको सक्रियतामा २०७८ सालमा यो केन्द्र स्थापना भएपछि सर्पदंशका बिरामीले समयमा उपचार नपाई मृत्यु वरण गर्नुपर्ने बाध्यता हटेको छ। केन्द्रका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद घलेका अनुसार बेलबारी नगरपालिकासँग समन्वय गरी करारमा नियुक्त गरिएका तीनजना कर्मचारी परिचालन गरी ६ शैय्या राखेर उपचार केन्द्र सञ्चालन गरिएको छ।
केन्द्र सञ्चालनमा आएपछि बेलबारी, कानेपोखरी, लेटाङ, केराबारी तथा सुन्दरहरैँचाका स्थानीय लाभान्वित भएको घलेले बताए। केन्द्रमा उपचारका लागि आउने बिरामीमा पोइजन देखिएमा दुई हजार रुपियाँ र पोइजन नदेखिएमा एक हजार रुपियाँ शुल्क लिने गरिएको उनको भनाइ छ।
सर्पदंशको समस्याको सम्पूर्ण उपचार गर्न केन्द्र सक्षम रहेको बताउँदै घले सर्पदंशबाहेक अन्य रोग देखिने बिरामीलाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाउने गरिएको बताए। उनका अनुसार केन्द्रले १० वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलालाई सर्पले टोकेको अवस्थामा भने उपचार दिन नसक्ने भएकाले कोसी अस्पताल विराटनगर पठाउने गरेको छ।
केन्द्रमा कर्मचारी अभाव रहेकाले पदपूर्तिका लागि नगरपालिकासँग अनुरोध गरिएको अध्यक्ष घलेले बताए। यसैगरी, केन्द्रमा नगरपालिकाको सहयोगमा अक्सिजन तथा सक्सन मेसिन जडान गरिएको तथा मोरङ क्षेत्र नम्बर ३ का सङ्घीय सांसद डा.सुनिल शर्माको सहयोगमा स्क्यानिङ मेसिन जडान गरिएको बताउँदै उनले केन्द्र सञ्चालनका लागि जेनेरेटर, स्ट्रेचर, कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेकाले स्थानीय तथा प्रदेश सरकारसँग माग गरिरहेको उल्लेख गरे।
विषालु सर्पले टोकेका बिरामीको उपचारका लागि बेलबारी नगर अस्पतालबाट चिकित्सक परिचालन गर्ने व्यवस्था मिलाइएको पनि अध्यक्ष घलेले स्पष्ट पारे। यसैगरी, उनले हाल ३ नम्बर वडामा सञ्चालित यस केन्द्रलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न ४ नम्बर वडास्थित बेतना सिमसारबाट दक्षिणतर्फ रहेको रेन्जपोस्ट भवनमा स्थानान्तरण गर्ने योजना रहेकोसमेत प्रष्ट पारे।
अस्पतालका प्राविधिक डिल्लीराम खत्रीले स्थापनाकालदेखि हालसम्म आफूहरूले बिरामीको सफल उपचार गरेको बताउँदै यस अवधिमा कसैलाई पनि रेफर गर्नुपर्ने अवस्था नदेखिएको जानकारी दिए।
स्थापनाकालदेखि हालसम्म केन्द्रले् तीन सय १३ जना सर्पदंशका बिरामीको उपचार गरेको छ। जसमध्ये २०७९ वैशाखदेखि चैतसम्म ७१ जना पुरुष र ७८ जना महिला गरी एक सय ४९ जना बिरामीको उपचार गरिएको केन्द्रको तथ्याङ्क छ। सो वर्ष विषालु सर्पले टोकेका तीनजना बिरामीको उपचार गरिएको थियो। यसैगरी, २०८० वैशाखदेखि चैतसम्म ८९ जना पुरुष र ६७ जना महिला गरी एक सय ५६ जनालाई केन्द्रले उपचार सेवा दिएको थियो। सो वर्ष केन्द्रमा विषालु सर्पले टोकेका बिरामीको सङ्ख्या चार रहेको थियो। चालु वर्ष २०८१ मा हालसम्म चारजना पुरुष र चारजना महिला गरी आठजनाको उपचार गर्दा कसैलाई पनि विषालु सर्पले टोकेको नदेखिएको केन्द्रले जनाएको छ।