उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन्।
मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन्।
संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ।
यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए।
जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरुले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन्।
‘‘यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन ‘’ गृहमन्त्री लामिछानेले सभामुखलाई लेखेको पत्रमा भनेका छन्।
संसदको हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम जोडिएको भन्द संसदीय छानबिन गर्न माग गरेको थियो। आफ्नो उक्त माग पूरा नभएसम्म लामिछानेलाई संसदको रोष्ट्रममा जान नदिने कांग्रेसको अडान छ।
गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाएका छन्।