बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको छ। समाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते आयोजना गर्न लागेको सम्मेलनको तयारी अन्तिम चरणमा रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईंले जानकारी दिनुभयो। युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिन लागेको चौँलागाईंले बताउनुभयो। 

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ। युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ। सम्मेलनमा विभिन्न कार्यशाला हुनेछ। युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौँलागाईंले जानकारी दिनुभयो। 

युवा सम्मेलनपश्चात् ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चौँलागाईंको भनाइ छ। यस वर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा माथिको पेसाका सीप सिकाई सीप परीक्षणपश्चात् टेवा पूँजी प्रदान गरिने उहाँले बताउनुभयो। निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ। तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ। तालिमपश्चात् सामाजिक विकास मन्त्रालय, सिटिइभिटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौँलागाईंले बताउनुभयो।