वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा कक्षा-१२ को जारी परीक्षामा आइतबार पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परीक्षार्थीहरुले तोडफोड गरेका छन्।
आन्दोलनरत परीक्षार्थीका अनुसार अनुगमनको नाममा उत्तरपुस्तिका खोसिदिने, पेन खस्दा पनि उभ्याई दिने लगायतका गतिविधि शिक्षकहरुले परीक्षा सुरु भएको पहिलो दिनदेखि नै गर्दै आएका थिए। ‘आइतबार दोस्रो दिनको परीक्षामा समेत त्यस्तै व्यवहार दोहोरिएयो।’
आइतबारको परीक्षा सकिएपछि परीक्षार्थीहरु भेला भएर क्याम्पसविरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए। नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका परीक्षार्थीले आइतबारको परीक्षा रद्द गर्ने र परीक्षा सेन्टर परिवर्तनको माग राखेका थिए।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर बोगटीले स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताएका छन्। कसैको उक्साहटमा आएर वीरगन्जको एनआई कलेजका विद्यार्थीहरुले तोडफोड गरेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख किशोरी रायले बताए। तोडफोडबाट क्याम्पसलाई भएको क्षति एनआई कलेजले दिनुपर्ने रायले बताएका छन्।