सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवि बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीको भाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ। 

भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा खगेन्द्रप्रसाद लुइँटेलसहितका व्यक्तिले शालिक अनावरण गर्नुभयो। उहाँ ‘मेम्बरअफ भिक्ट्रिोरियन अर्डर तथा अर्डरअफ ब्रिटिस इन्डिया’ पदकबाट विभूषित हुनुहुन्थो। 

बराल वि.सं.१९७० असार ३ गते फष्ट गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भई सुवेदार मेजरबाट सन् १९३५ मा सेवानिवृत्त हुनुभयो। सुवेदार मेजर पदमा रहँदा सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएकाले उहाँपनि आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा पुग्नुभएको थियो।

दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वानअनुसार उहाँ पुनः सैनिक सेवामा प्रवेश भई सन् १९५२ सम्म काम गर्नुभयो। यसअवधिमा उहाँलाई मानार्थ कप्तानको दज्र्यानी प्रदान गरियो। मास्टर मित्रसेन साहित्य सङ्गीतसभा–धर्मशाला हिमालञ्चल प्रदेश अध्यक्ष सल्लाहअनुरुप स्व.बरालको शालिक स्थापना गरिएको उहाँका नाती पुजन बरालले जानकारी दिनुभयो।

पैतृकथलो तत्कालीन पाल्पा भएका साहित्यकार बरालले सन् १९५५ अप्रिलमा सो गोरखनाथ मन्दिर  स्थापना गर्नुभएको थियो। उहाँको जन्म वि.सं.१९४७ मा वैशाख १६ गते र देहावसान वि.सं.२०१९ असोज ३० गते भएको थियो। उहाँ सन् १९३५ देखि १९३९ सम्म अल इण्डिया गोर्खा एशोसिएसनको अध्यक्ष हुनुभयो। साहित्यकार बरालको आँशुमा शीर्षकको कृतिमा गीत, गजल र भजनलगायतका सिर्जना समावेश छ। यस कृतिमा एक सय ६८ वटा रचना छन्। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक तथा म्यानमारका लागि नेपालका पूर्वराजदूत स्व खड्गजीत बराल उहाँका कान्छा छोरा हुनुहुन्थ्यो।