नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताउनुभएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिनुभयो। 

“नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु”, सभापति देउवाले भन्नुभयो, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ।”

उहाँले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गर्नुभयो। उहाँले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्न समेत गर्नुभयो।