देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका-३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। 

बैतडीको डिलासैनी गाउँपालिका-१ स्थित बसन्तपुर तुफानडाँडामा बर्मबाट सिमारतर्फ जाँदै गरेको सु.प.प्र०१००२ त ४६८६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्टको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको लहान नगरपालिका-१८ बसाजोरमा अमहीबाट लहानतर्फ जाँदै गरेको स.१० प २०९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१८ बस्ने १५ वर्षीय जितेन्द्र ठाकुरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। 

पर्साको जगरनाथपुर गाउँपालिका-४ हुलाकी सडकमा वीरगन्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर २२ क्यू ३४४० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत पश्चिम चम्पारण घर भएका २० वर्षीय सचिन थारूको मृत्यु भएको छ।आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।