बेलबारी : मोरङको बेलबारी नगरपालिका ९, पोखरियास्थित महाराजथान परिसरमा सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । हरेक वर्ष वैशाख ९ गतेका दिन मेला लाग्दै आएको सो स्थानमा सोही दिन सााङ्गीतिक कार्यक्रम हुन लागेको हो । श्री डायमन्ड प्रोग्रेसिभ युथ क्लब तथा महाराजस्थान विकास समितिको संयुक्त आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रमको उद्देश्य सांस्कृतिक परम्पराका रूपमा निरन्तर लाग्दै आएको मेलाको प्रचारप्रसारका साथै नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान गर्नु रहेको आयोजक संस्थाहरूको भनाइ छ ।

कार्यक्रममा गायिका अनु चौधरीको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ भने मोरङकै सुन्दरहरैँचा नगरपालिका १०, विराटचोकमा सञ्चालित पूर्वाञ्चल डान्स स्टुडियो र स्थानीय चार निजी विद्यालयहरूबाट आउने विद्यार्थीको समूहले पनि नृत्य प्रदर्शन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय बालजगत इङ्ग्लिस बोर्डिङ स्कुल, हिमालयन बोर्डिङ स्कुल, ग्यालेक्सी बोर्डिङ स्कुल र डाँगीहाट लिटल बुद्ध बोर्डिङ स्कुलका विद्यार्थीको समूहले नृत्य प्रस्तुति दिने आयोजक संस्था डायमन्ड प्रोग्रेसिभ युथ क्लबका अध्यक्ष रुपेश चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रम मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ ।