सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चारजनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ।
इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिनुभएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय चित्रा पुन, निजका ६ वर्षीय छोरा रमेश पुन मगर र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो।
चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक केन्द्र तथा स्थानीय पोलिक क्लिनिकमा उपचार भइरहेको छ।
दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिङबाङ खोलामा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परी २२ जना घाइते भएका थिए । घाइतेमध्ये आठजनाको अवस्था सामान्य रहेकाले दुर्घटनालगत्तै उनीहरु घर फर्किसकेकाले सल्यान प्रहरीले यसअघि १४ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो। बस अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।