प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सदन अवरुद्ध भएको छ।
आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिनुभएको थियो। उहाँले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गर्नुभयो।
सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गर्नुभयो। साथै उहाँले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराउनुभएको थियो।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिनुभएको थियो। उहाँले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गर्नुभएको थियो।
कांग्रेस सांसदहरु आसनबाट उभिइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो।