बिराटनगर, चैत्र २२ गते ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीमा आयोजित एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको छ । आज बिहान भएको हस्तान्तरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले फेला पारेको ३ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा वहाँले सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक अनिवार्य लगाउन र सुरक्षा साइरनहरु सवारीमा जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा सम्वन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफुहरुलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रसंसा गर्नु भएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ भने ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।