मोरङको केराबारीमा गाउँमा आतंक मच्याएको राँगालाई प्रहरीले गोली हानेर मारेको छ। मंगलबार बेलुका गाउँमा पसेर आतंक मच्याएपछि प्रहरीले दुई राउण्ड गोली हानेर राँगा मारेको हो।

केराबारी गाउँपालिका–८ आमजुंगीमा प्रवेश गरेको राँगाले आतंक मच्चाउन थालेपछि गोली हानेर मार्नु परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

राँगाको आक्रमणबाट ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएका छन्। राँगा नियन्त्रणमा लिने प्रयास सफल नभएपछि इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ प्रहरी नायव निरीक्षक केदार सापकोटा नेतृत्वको टोलीले गोली हानेर साँझ ७ः२५ बजेतिर राँगा मारेको थियो।

प्रहरीले गोली हानेर मारेको राँगाको धनी सम्पर्कमा नआएपछि वडा कार्यालयले खाल्डो खनेर पुरेको थियो।