नेपाल कम्युनिष्ट पार्टी एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग गर्नुभएको हो।

“पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी १२ कक्षामा पढ्दै गरेकी १९ वर्षीया सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा एक जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको कायरतापूर्वक हत्या गरियो। हत्यामा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको छ। हत्यारा पत्ता लागेको छ। तर पनि परिवारले राहत पाउन सकेको छैन”, उहाँले भन्नुभयो। 

सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त उच्छृङ्खल र निराशा पैदा गरेको बताउँदै उहाँले गरी खाने सुनारको परिवार अत्यन्त पीडामा रहेको उल्लेख गर्नुभयो। “सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु, र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गर्दछु”, उहाँले भन्नुभयो। 

सांसद गैरेले शनिबार आएको हावाहुरीका कारण तानसेन नगरपालिका कैलाशनगर निवासी २० वर्षीय भुवन सिङ्जालीको रुख ढलेर लाग्दा निधन भएकोप्रति दुःख व्यक्त गर्नुभयो । सो घटनामा एक जना घाइते हुनुभएको थियो। 

हावाहुरीकै कारण पाल्पाको रिब्दिकोट गाउँपालिकामा मात्रै रु आठ लाख बराबरको अकबरे खुर्सानीका विरुवा नष्ट भएको र त्यसबाट हुने आम्दानी करिब रु आठ करोड बारबरको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। 

पाल्पाको रिब्दिकोटलगायतका गाउँपालिकामा सुन्तला खेतीयोग्य क्षेत्रमा हजारौँ सुन्तला र कागतीमा फूलमा क्षति हुँदा रु तीन करोड बराबरको आम्दानी गुमेको बताउनुभयो। उहाँले सोही क्षेत्रमा काक्रो, बोडी, गोलभेँडा फर्सीलगायतका विरुवामा पनि क्षति हुँदा रु चार करोड बराबरको क्षति भएको उल्लेख गर्नुभयो।

त्यसैगरी पाल्पाको तिनाउ, तानसेन, रैनादेवी छहरा, बगनासकालीलगायतका नगरपालिका र गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर र विद्यालयका छाना उठाएको भन्दै उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। “विद्युत्का पोल ढलेका छन्, किसानले ठूलो मात्रामा क्षति बेहोर्नु परेको छ। पीडितहरुलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गरोस”, उहाँले भन्नुभयो।

एकातिर वन डढेलो तथा आगजनी र अर्कोतर्फ हावाहुरीसहितको वर्षाका कारण किसानले हरेक वर्ष समस्या भोग्नुपरेको उहाँको भनाइ छ। उहाँले सरकारले समयमै सम्भावित क्षतिको अनुमान गरी त्यसलाई न्यूनीकरण गर्ने, पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न व्यवस्थित योजनाका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। 

सांसद मनिष झाले मधेसमा एसइई परीक्षामा भएको खुल्लापनलाई गहिरो गरी अध्ययन गर्न माग गर्नुभयो।