बेलबारी । मोरङको बेलबारी नगरपालिका क्षेत्रकै सहकारीको खम्बाका रूपमा परिचित बेलबारी ३ स्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुल्ला रक्तदान शिविर सम्पन्न गरेको छ ।IMG_9146

६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाले आज सोमबार बेलबारीको पश्चिम बस स्टेन्डमा शिविर सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दुर्गा गौतमका अनुसार प्रत्येक वर्ष सहकारी दिवस र संस्थाको साधारणसभाका अवसरमा संस्थाले नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । दिवसकै अवसरमा आज साँझ बेलबारी चौक र बेलबारी नपा ११ स्थित लक्ष्मी मार्गमा एकैसाथ दीप प्रज्वलनको कार्यक्रम पनि राखिएको अध्यक्ष गौतमले बताए ।IMG_9134

रक्तदान शिविरका अवसरमा बेलबारी निवासी रक्तदाता नारायण सुवेदीले ५६ औँ पटक रक्तदान गरेका थिए । मानव जीवनलाई बचाउनका लागि रगत अत्यन्तै महत्वपूर्ण हुने भएकाले अरु केही गर्न नसके पनि रक्तदान गरेर जीवन बचाउने अभियानमा सहयोग गर्न उनले अपिल गरे ।IMG_9144

यसैगरी, अर्का रक्तदाता बेलबारीकै राजु परियारले आफू नियमित रक्तदाता हुनुका साथै संस्थाको शुभेच्छुकसमेत रहेकाले संस्थाले आयोजना गरेको शिविरमा रक्तदान गरेको उल्लेख गरे ।IMG_9086

रक्तदान शिविरमा ६४ पिन्ट रगत सङ्कलन भएको आयोजक संस्थाले जनाएको छ । रक्तदान शिविर आयोजनाका लागि नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।IMG_9085