कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन्।
पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन्।
चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो। सन्थाल बस्ती सुकुम्वासी बस्ती हो। उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन्। प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्नमात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए। मुख्यमन्त्री कार्कीेले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन्। ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ। तपाइँ हामीले आँट गर्यौँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ।’ उनले भने।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा विराटनगर-१२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ। जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिकरुपमा तिरिरहेका छन्। सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो।