रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो।
भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए।