डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ। 

गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो। यसअघि यहाँ तीन तीन महिनामा घुम्ती सेवामार्फत भिडियो एक्सरे सेवा प्रदान गरिँदै आएको थियो। 

“अबदेखि स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा प्रदान गरिने छ”, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले भन्नुभयो। नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै उक्त सेवा नियमित गरिएको हो। यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्न सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो। स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले उक्त सेवा प्रदान गरिरहनुभएको छ।