आज मधेसमा धुमधामसँग होली मनाइँदैछ। मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ।
कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ। होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, ख्वाउने र रङ् अबिरको खेल सुरु हुन्छ।
होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ। यस पर्वमा घरपरिवार र समाजका कान्छा सदस्यले आपूmभन्दा जेठाको चरण अबिरले पुजेर होली खेल्ने अनुमति माग्छन्। पर्वमा अबिर लगाइदिएपछि एकआपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गरिन्छ। उल्लास र उमङ्गको यो पर्वमा घरघरै मालपुवा, दालपुरी र सेलरोटी विशेष परिकार मानिन्छन्।
यसैगरी केरा, लौका, आलु, परवल र भाण्टासहितको तरुवा घरघरै पकाइन्छ। सबैका घरमा खाने, खुवाइने यी परिकारसँगै मांसहारीले आफ्नो रुचिअनुसारको मासु पकाउने र खाने, ख्वाउने गर्छन्। पर्वमा भाङको सर्वत खाने र खुवाउने मैथिल परम्परा छ। पिसिएको भाङ पत्ती दूध, सख्खर र मरिच मिसाएर सर्वत बनाउने र खाने र खुवाउनेमा मिथिलामा होड नै चल्छ।
पर्वमा समवयीबीचको होली खेल्ने परम्परा छ। यसबाहेक सालासाली-भिनाजु र सोल्टासोल्टीबीचको रङ् छ्यापाछ्यापले जोसुकैलाई रोमाञ्चित गराउँछ।
मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ। हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरकफरक दिनका होलीमा मनाउने चलन छ। यो आपसी अन्तरघुलनले बनाएको उच्चतम संस्कृति रहेको पाका मैथिल बताउँछन्।
मिथिलाको मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ। यसअनुसार आज परिक्रमा सम्पन्न भएपछि वृतभित्र भोलि होली मनाइन्छ। पछिल्ला केही दशकयता भने कतिपय ठाउँमा होलीका नाउँमा विकृति बढ्दै गएको भन्दै पाका मधेसी चिन्ता व्यक्त गर्छन्। होलीका परम्परागत विशिष्ट गीत हुँदाहुँदै अचेल भड्किला गीत र डिजे बाजाको कर्कस स्वर बढ्न थालेको छ।