विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । 

विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ। वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाप गरी छुट्याइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो।

विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाप गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताउनुभयो। महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष न्यौपानेका अनुसार नापजापपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजापपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो।