खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ।

गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई गाउँपालिकाले थप उपचारका लागि प्रसूतिगृह पठाएको हो। शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो। एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाका उपप्रमुख अरुणा थापामगरले जानकारी दिनुभयो। पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुःल्क उपचारको  व्यवस्था गरेको छ।

गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठजनामा उच्च रक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ। उहाँले भन्नुभयो, “सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ।”