घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी हुनुभयो। कक्षा पाँच पढ्दा पढ्दै उहाँको बिहे भएपछि पढ्ने रहर अधुरो थियो। त्यही अधुरो रहर पुरा गर्न उहाँ अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहनुभएको छ।
“मलाई पढ्न लेख्न आउँदैनथ्यो। अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उहाँले भन्नुभयोे, “शिक्षक, साथी र परिवारको सहयोगले अगाडी बढ्न सजिलो भएको छ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो। अहिले सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो।
सीताले जागीर खानका लागि पढ्नुभएको हैन। शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उहाँले बताउनुभयो। उहाँ दुई वर्ष अघि कक्षा ६ मा भर्ना हुनुभएको थियो। कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उहाँले बताउनुभयो।
“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ। लामो समयपछि पढ्ने रहर जाग्यो। अहिले निरन्तरता दिँदैछु”, उहाँले भन्नुभयो, “मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ।”
पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो। अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन्। घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उहाँ खुसी हुनुहुन्छ। पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ।
सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उहाँले बताउनुभयो। ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उहाँले बताउनुभयो।
सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयकी शिक्षिका सुनिता शर्माले बताउनुभयो। सीता खनालले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको शिक्षिकाको भनाइ छ। पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो।