वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि सोमबार सर्वोच्च अदालतमा फर्किएकी छिन्।

गत जेठ ७ गतेदेखि बिदामा बसेकी उनी आज इजलासमा फर्किएकी हुन्। आज उनको एकल इजलाससँगै न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास पनि तोकिएको छ।

वरिष्ठताको आधारमा उनी नै प्रधानन्यायाधीश हुनुपर्नेमा चौथो नम्बरका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि उनी असन्तुष्ट बनेकी थिइन्।

जेठ ६ गते प्रधानन्यायाधीशको रूपमा नियुक्त भएर शर्मा कार्यभार सम्हाल्न सर्वोच्च पुग्दा मल्ल अनुपस्थित भएकी थिइन्।

उनले केही महिना कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गरेकी थिइन्।

अब उनी वरिष्ठतम न्यायाधीशको रूपमा काम गर्न फर्किएकी हुन्। कतिपयले मल्लले राजीनामा दिने भन्ने आकलन गरेका थिए।