झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-२ बेलटारस्थित एक घरमा आगलागी भएको छ।
अर्जुनधरा-२ को बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी भएको सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका प्रमुख असई हिरबहादुर राईले जानकारी दिनुभयो।
बुधबार बेलुकी करिब साँढे ९ बजे विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको राईले बताउनुभयो। आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो।
आगो नियन्त्रणमा लिन बिर्तामोड नगरपालिकाको दमकल परिचालन गरिएको थियो। त्यस्तै सशस्त्र प्रहरी बल खुदुनाबारीको टोलि र अस्थायी प्रहरी चौकी खुदुनाबारीको टोलि, स्थानीय र जनप्रतिनिधिहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको बताईएको छ।
अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य विमला रोक्काले आगो नियन्त्रणलाई सहज बनाउन जेसिबीको प्रयोग गरेर आगो सल्किएको घर भत्काईएको बताउनुभयो।
रोक्काका अनुसार टिनको छाना र सिमेन्टको वाल भएको उक्त घरमा केहि समय अघिदेखि भोजपुर स्थायी ठेगना भएका दुई जना मानिस भाडामा बस्दै आएका थिए। उनीहरु भने सुरक्षीत रहेको उहाँले बताउनुभयो।
३ कोठा भएको उक्त घर आगलागीबाट पुर्णरुपमा जलेर नस्ट भएको बताइएको छ। अन्दाजी ५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।